सर्लाही क्षेत्र नं. १ का पूर्व प्रतिनिधिसभा सदस्य प्रमोद साहले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका छन् ।

साहले बिहीबार बिहान प्रेस विज्ञप्ती जारी गरी साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल छाडेको घोषणा गरेका हुन् । गएको असारमा प्रदेश राजधानी जनकपुरधाममा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका साहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

पदाधिकारी तथा कार्यकारिणी सदस्य नियुक्त गर्दा सर्लाही जिल्लालाई नसमेटिएको र जिल्लाका नेताहरुलाई जिम्मेवारी दिन केन्द्रीय अध्यक्ष, प्रदेश अध्यक्ष, इन्चार्जलगायतलाई बारम्बार भन्दा पनि सुनुवाई नभएको साहले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले २७ वर्षको मधेश केन्द्रीत राजनीतिको लामो यात्रापश्चात पहिलो पटक राजिनामा दिएको बताए ।

साहले उज्यालो अभियानसँगको कुराकानीमा पनि पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् ।

सर्लाहीमा जसपा नेपालका नेताले एकपछि अर्को गर्दै राजिनामा दिइरहेका छन् । केही दिनअघि जिल्ला अध्यक्ष वीरेन्द्र यादवसहित दर्जनौँ नेता, कार्यकर्ताले सामूहिकरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।