सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीमा १६ कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

सङ्घीय सरकार र गोडैता नगरपालिकाको संयुक्त लगानीमा समपुरक अनुदान अन्तर्गत बैजनाथ माध्यमिक विद्यालयमा दुुई करोड ८० लाख ८६ हजार ९५० रुपियाँ खर्चिएर दुुई तले सोह्र कोठे भवन तयार पारिएको हो । नवनिर्मित विद्यालय भवनको आज (सोमबार) साँझ प्रतिनिधिसभा सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी र नगरप्रमुख देवेन्द्र यादव लगायत भएर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

विद्यालय भवनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य ठाकुर र प्रदेश सरकारका शिक्षा मन्त्री शर्माले सुविधा सम्पन्न भवन प्राप्त गरेको विद्यालयलाई गुणस्तरीय पठनपाठनमा पनि उत्तिकै ध्यान केन्द्रीत गर्न सुुझाव दिएका स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए । विद्यार्थीको अधिक चाप रहेको विद्यालयमा अब कक्षाकोठाको अभावमा विद्यार्थी राख्नै मुस्किल पर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रधानाध्यापक राकेशकुमार मण्डलले खुसी व्यक्त गरेका छन् ।

वडाध्यक्ष केशवकुमार यादवको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेश सरकारका शिक्षा मन्त्री रानीकुमारी तिवारी, नगर प्रमुख देवेन्द्र यादव, उपप्रमुख अन्जना कुुशवाहा, लोसपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रदीपनारायण राय, शिक्षाविद् वीरबंश बैठा, विभिन्न वडाका वडाध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।