फाल्गुन ७ गते प्रजातन्त्र दिवसलाई भव्य र सभ्य रूपमा मनाउने तयारी गरिएको छ। यसका लागि केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री, र जिल्लामा जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा समारोह समिति गठन भइसकेको छ। समितिको बैठक नवनिर्मित जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभाकक्षमा बसेर विभिन्न कार्यक्रमहरू गर्ने सहमति भएको छ।

समितिको निर्णयअनुसार फागुन ६, ७ र ८ गते दीपावली गरिनेछ। साथै, फागुन ६ गते बिहान ७:३० बजे प्रादेशिक अस्पतालमा बिरामीलाई फलफूल वितरण गरिनेछ। प्रमुख कार्यक्रम फागुन ७ गते बिहान जिल्ला प्रशासन कार्यालयबाट प्रभात फेरि निकालेर झण्डोतोलन, संक्षिप्त मन्तव्य तथा रक्तदान कार्यक्रम गरिने तय भएको छ।

यसैगरी, दिउँसो तीन बिघे मैदानमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरिनेछ। कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकाय, संघ-संस्था, पत्रकार, शिक्षक, विद्यार्थी, उद्योगी, व्यापारी लगायत आम नागरिकलाई सहभागी हुन आग्रह गरिएको छ।

प्रजातन्त्र दिवसप्रति नागरिक उत्साह अपेक्षाकृत नभए पनि राष्ट्रिय दिवसको रूपमा मनाइने भएकाले सबै सरोकारवालाले सहभागी भई दिवसलाई सफल बनाउन आग्रह गरिएको छ।