नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैबाट सर्लाहीमा कार्यकर्तासँगको भेटघाटमा ब्यस्त रहेका छन् ।‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ का क्रममा गएसाँझ हुलाकी सडक भएर सर्लाही प्रवेश गरेका प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुलाई कार्यकर्ताले भव्य स्वागत गरेका थिए । हिजो बेलुका पर्सा गाउँपालिकाको शितलपुर, सङ्ग्रामपुर र कविलासीमा प्रचण्डले स्थानीय नेता, कार्यकर्तासँग भेट गरे ।राति पर्सा गाउँपालिका–४, कविलासीस्थित पार्टीको तर्फबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड आज बिहान अन्य नेता र पार्टीका कार्यकर्तासँगै पर्सा गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडकमा मर्निङवाकमा सहभागी भएका छन् । त्यसपश्चात पार्टीका नेता, कार्यकर्तासँगको भेटघाट कार्यक्रम सुरु भइसकेको नेकपा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम काफ्लेले  बताए ।‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत सर्लाहीमा आज एक दर्जन भन्दा बढी स्थानमा सभा, कार्यकर्ता भेटघाटजस्ता कार्यक्रम आयोजना गरिएको जिल्ला इन्चार्ज काफ्लेले बताए । उनका अनुसार नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहीया, बलरा, रामनगर, धनकौललगायत स्थानमा कार्यक्रम आयोजना गरिएको छसर्लाहीको कार्यक्रम सकेर अध्यक्षसहितका नेताहरु आजै साँझ रौतहट प्रस्थान गर्ने कार्यक्रम तय भएको जिल्ला इन्चार्ज काफ्लेले बताए ।माओवादी केन्द्रको अभियानलाई लक्षित गरी सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । कार्यक्रमस्थलहरुमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।माओवादी केन्द्रले पूर्वको झापाबाट फागुन १२ गतेदेखि सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ हुलाकी सडक हुँदै अहिले सर्लाही आइपुुगेको हो ।