सर्लाहीको लालबन्दीमा आजबाट दोस्रो लालबन्दी महोत्सव सुरु हुँदै छ ।‘आर्थिक समृद्धि र स्वरोजगारको आधार–कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित लालबन्दी ९ स्थित हुलास खाद्य उद्योग (गोल्छा) परिसरमा महोत्सव सुरु हुन लागेको हो । महोत्सवको आज दिउँसो मधेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले उद्घाटन गर्दै छन् ।त्यसपछि मध्यान्ह लालबन्दी बजार क्षेत्रमा झाँकी तथा र्याली निकाल्ने तयारी रहेको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।आगामी चैत ४ गतेसम्म संचालन हुने महोत्सवमा प्रमुख आकर्षकका रुपमा दैनिक राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने छ । आज उद्घाटनका दिन सर्लाही हजरिया निवासी गायक कर्णराज गिरीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।महोत्सवमा स्थानीय विभिन्न कृषि उत्पादन, औजार, व्यापार व्यवसायलगायतको स्टल रहने छन् । महोत्सव आयोजना गर्दा स्थानीय आर्थिक गतिविधि बढ्ने र व्यापार, व्यवसाय चलायमान हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका संयोजक पूर्णप्रसाद चौलागाईले बताएका छन् ।महोत्सवको अवलोकन गर्दा आमसर्वसाधारणलाई ८० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।