सर्लाहीको लालबन्दीमा जारी दोस्रो लालबन्दी महोत्सवमा ट्राफिक प्रहरीले सचेतनामूलक स्टल स्थापना गरी संचालनमा ल्याएको छ ।लालबन्दी नगरपालिका–९, स्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजित महोत्सव अवलोकनमा आउनेहरुलाई ट्राफिक नियम, दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि ध्यान दिनुपर्ने विषयमा जानकारी प्रदान गर्न ट्राफिक सचेतनामूलक सामग्री, ब्यानर, ट्राफिक चिन्ह तथा सङ्केत र ट्राफिक प्रहरीले प्रयोग गर्ने विभिन्न उपकरण प्रदर्शनीमा राखिएको हो । मानिसको भीडभाड हुने महोत्सवस्थलको माध्यमबाट ट्राफिक नियमको पालना गराउने र सडक दुर्घटना न्यूनिकरण गर्ने मुख्य उदेश्यसहित मोफसलमा यसरी नमूनाका रुपमा महोत्सवस्थलमा स्टल राखेर सचेतना प्रदान गर्ने काम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिए ।उक्त सचेतनामूलक स्टलमा आइपुुग्ने सर्वसाधारणलाई ट्राफिक प्रहरीले ट्राफिक नियम तथा सचेतनासम्वन्धी पर्चा वितरण गर्ने गरेका छन् । स्टलमा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, ट्राफिक नियम मिचेकोमा गर्व होइन लाज मान्ने गरौँ, रातको समयमा अरु सवारी साधनलाई बाधा हुने गरी हाइ लाइटको प्रयोग नगरौँ, सवारी साधन चलाउँदा सडकमा ध्यान केन्द्रीत गरौँजस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शनीमा राखिएको छ ।उद्योग वाणिज्य संघ लालबन्दीले सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना जगाउने उद्देश्यसहित ट्राफिक प्रहरीलाई महोत्सवस्थलमा स्टल प्रदान गरेको अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले बताउनुुभयो । ‘आर्थिक समृद्धि र स्वरोजगारको आधार–कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित फागुन २३ गतेदेखि सुरु भएको दोस्रो लालबन्दी महोत्सव अगामी चैत ४ गतेसम्म संचालन हुने आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।