सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य अलपत्र छाडेर निर्माण व्यवसायी (ठेकेदार) सम्पर्कविहीन बनेका छन् । सदरमुकाम मलङ्गवाको मुख्य बजार क्षेत्रमा कालोपत्रे गर्न र मलङ्गवादेखि पूर्व पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरसम्म अन्तिम चरणको कालोपत्रे गर्न बाँकी नै रहँदा ठेकेदार सम्पर्कविहीन बनेपछि हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले ठेकेदारलाई पत्र काटेको छ ।

कार्यालयले निर्माण व्यवसायी हिम्डुुङ्ग एण्ड ठोकर/हिरा एण्ड नमिता जेभिलाई सम्झौता अनुसार काम गर्न छाडेर सम्पर्कविहीन भएपछि ठेक्का किन नतोड्ने ? भन्दै पहिलो पटक पत्र काटेको हो ।

फागुन २१ गते पत्र काटेर सडक निर्माण अलपत्र छाड्नुुको कारणसहित तीन दिनभित्र सम्पर्कमा आउन भनिए पनि निर्माण व्यवसायी सम्पर्कमै नआएका हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका सूचना अधिकारी रन्जित यादवले जानकारी दिनुुभयो ।

यादवका अनुसार पूर्व पश्चिम हुलाकी राजमार्गअन्तर्गत हिम्डुुङ्ग एण्ड ठोकर÷हिरा एण्ड नमिता जेभिले ठेक्का सकार गरेको १५ किलोमिटर सडकमध्ये सदरमुकाम मलङ्गवामा डेढ किलोमिटर कालोपत्रे नभएर धुलाम्मे अवस्थामा रहेको छ भने मलङ्गवादेखि पूर्वतर्फ सङ्ग्रामपुरस्थित बाँके खोलासम्मको बाँकी सडकमा अन्तिम चरणको कालोपत्रे गर्न बाँकी छ ।

ठेकेदारलाई सम्पर्कमा आउन यसैगरी तीन पटकसम्म पत्र काटिने र त्यति गर्दा पनि सम्पर्कमा नआए ठेक्का नै रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले जनाएको छ । मलङ्गवामा हुलाकी सडक कालोपत्रे नहुँदा धुलोले सास्ती दिएको भन्दै स्थानीय युवाले बारम्बार आन्दोलन गर्दै आइरहेका छन् ।

मलङ्गवा नगरपालिका–८, का स्थानीय शिवचन्द्र चौधरीले सडकमा कुहिरीमण्डल भएर धुलो उड्दा हिँड्डुल गर्न तथा घरमा बस्न समेत समस्या रहेको बताउनुुभयो । सडक कालोपत्रे हुने आशमा बस्दाबस्दै ठेकेदार नै सम्पर्कविहीन भएपछि चिन्ता थपिएको चौधरीको भनाइ छ ।  हुलाकी सडक निर्माणका लागि २०७३ असार ३१ गते भएको सम्झौता बमोजिम निर्माण कार्यको प्रगति सन्तोषजनक नदेखिएको र पटक–पटक साइट अनुुगमनको क्रममा निर्माण व्यवसायीका कोही प्रतिनिधि नभेटिएका हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका योजना प्रमुख इन्जिनियर कृष्णकुमार महतोले बताउनुुभयो । कार्यालयबाट पटक–पटक मौखिक तथा एक वर्षअघि गत फागुन २९ गते पत्रमार्फत ताकेता गरेपनि हालसम्म साइटमा निर्माण कार्य नभएको इन्जिनियर महतोले बताउनुुभयो ।