सर्लाहीको बरहथवा नगरपालिका–६ मा अवस्थित गोल्डेन अस्पतालका सञ्चालक दिपेश यादवले बिरामी र आफन्तमाथि कुटपिट गरेको आरोप लागेको छ। रामप्रवेश साहकी श्रीमतीको उपचारका क्रममा १८ हजार रुपैयाँको बिल माग गरिएको विषयमा सोधपुछ गर्दा कुटपिट भएको पीडित पक्षको भनाइ छ।

पीडितले अस्पतालले अत्यधिक शुल्क लिएको र सोधपुछ गर्दा अस्पताल सञ्चालक यादवले शारीरिक दुर्व्यवहार गरेको आरोप लगाएका छन्। घटनापछि स्थानीय प्रशासन तथा बरहथवा नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी पुगेको छ।

घटना सार्वजनिक भएपछि सो विषयले व्यापक चर्चा पाएको थियो। यसै क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज चन्द्रनगरको नादी तालमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गरेलगत्तै साँझमा अस्पतालको निरीक्षण गरेको बुझिएको छ।

मुख्यमन्त्री सिंहले गोल्डेन अस्पतालसहित आसपासका अन्य स्वास्थ्य संस्थाहरूको समेत अनुगमन गरेका छन्। उनले स्वास्थ्य सेवा क्षेत्रमा हुने लापरवाही तथा शोषणप्रति कडाइका साथ कारबाहीको संकेत दिएको स्रोतले जनाएको छ। अनुगमनको थप विवरण र अनुसन्धान रिपोर्ट आउन बाँकी छ।