सर्लाही सदरमुकाम मलंगवामा रहेको कृषि विकास बैंक शाखाले अब आफ्नै भवन निर्माण प्रक्रिया सुरु गर्ने भएको छ। हाल बैंक सन्चालनमा रहेको जमिनमा बसपार्क सञ्चालन हुँदै आएको छ, तर अब उक्त बसपार्क हटाइने भएको छ।

कृषि विकास बैंक मलंगवा शाखाका प्रबन्धक वीरेन्द्र कुमार शाहका अनुसार, हाल बसपार्कको रूपमा प्रयोगमा रहेको जग्गा बैंककै स्वामित्वमा रहेको हो। सो जग्गा खाली गरी आफ्नै भवन निर्माण गरिने योजना रहेको उनले जानकारी दिए। बैंकले यस सम्बन्धमा सरोकारवालासँग छलफल अगाडि बढाइसकेको छ।

उनका अनुसार, मलंगवा बसपार्क बाहेक अन्य स्थानमा करिब एक बिघा जति जग्गा अलपत्र अवस्थामा छ। सो जग्गाको पनि व्यवस्थापन गर्न नसकिएकोले बैंक हाल भाडाको भवनमा सञ्चालन भइरहेको छ। तर अब बैंकले आफ्नै स्थायी भवन निर्माण गर्दै सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउने लक्ष्य लिएको छ।

बैंकको जग्गा प्रयोग गरेर सञ्चालन भइरहेको बसपार्कबाट बस व्यवसायी संघले कुनै आर्थिक लाभ नपाएको र पार्किङको लागि प्रयोग भएको जग्गाको उतपट्टि रहेका ९ वटा सटरबाट मात्रै आम्दानी भइरहेको जानकारी समेत बैंकले दिएको छ।

बैंकले उक्त बसपार्क स्थान खाली गरी भवन निर्माण कार्य सुरु गर्ने जनाइएको छ। यससँगै मलंगवा नगरपालिका वडा नम्बर २ मा रहेको नयाँ बसपार्कबाट बसपार्क संचालन हुने सुनिश्चित भएको छ। मलंगवा नगरपालिका को सहयोगमा करोडौंको लगानीमा निर्माण गरिएको नयाँ बसपार्क अहिले अलपत्र अवस्थामा छ । बसपार्क सार्ने बिषयमा पटक पटक निर्णय भएपनि बिवाद हुदै आएको छ । तर अव भने कृषि बिकासले बैंकले नै आफनै भवन बनाउन सुरु गर्ने भएपछि नयाँ बसपार्क प्रयोग हुने सुनिश्चित भएको छ ।