सर्लाहीको मलंगवा नगरपालिकामा होमप्रसाद घिमिरे नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका छन्। उनका हाजिरीसँगै कार्यबाहक नगर प्रमुख शकुन्तला देवी साहसहित वडा अध्यक्षहरूले राखेको १० बुँदे मागका कारण गरिएको तालाबन्दी खुल्ने भएको छ।

कार्तिक २३ गतेदेखि जारी रहेको अनिश्चितकालीन तालाबन्दी प्रशासनसँग सहमति भएपछि हटाइएको हो। नगरपालिकाका प्रवक्ता नवल यादवका अनुसार, अधिकृत घिमिरेले मागहरूलाई नियमानुसार अघि बढाउने प्रतिबद्धता जनाएपछि ताला खोलेको हो।

तालाबन्दी खुलेसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया पनि पुनः सुरु हुने भएको छ। नगरपालिकाले भत्ता आज–भोलिमै सम्बन्धित बैंक तथा भुक्तानी केन्द्रमार्फत वितरण गरिने जानकारी दिएको छ।

तालाबन्दी खुल्दा नगरपालिका पुनः सामान्य सेवामा फर्किएको छ र भत्ता पाउन पर्खिरहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरूले राहतको अनुभूति गरेका छन्।