‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने मूल नारासहित ३८औँ विश्व एड्स दिवस–२०२५ सर्लाहीमा विभिन्न संस्था र सङ्गठनहरूको सहकार्यमा मनाइयो।

आज बिहान प्रादेशिक अस्पताल सर्लाहीको अगाडिबाट सुरु भएको जनचेतनामूलक प्रभातफेरी स्वास्थ्य कार्यालय सर्लाहीको प्राङ्गणमा कोणसभासहित सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय सर्लाहीका क्षयकुष्ठ अधिकृत बलिराम यादवले गर्नुभयो।

कोणसभामा मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिषणु कान्त साह, प्रादेशिक अस्पताल सर्लाहीका डा. सचिन यादव, नगरपालिकाकी संगिता परियार, एआरटी प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय शिक्षक–विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम मानव अधिकार रक्षक सञ्जाल मलंगवा, प्रादेशिक अस्पताल सर्लाही, WOREC, BDS HIV Community Serviceलगायतका स्थानीय तथा राष्ट्रिय संस्थाहरूको सक्रिय सहकार्यमा सम्पन्न भएको हो।

एड्सबारे जागरूकता, रोकथाम, उपचार पहुँच वृद्धि तथा समुदायस्तरमा सचेतना विस्तार कार्यक्रमको मुख्य उद्देश्य रहेको अधिकृत यादवले बताउनुभयो।

एआरटी–डट्सका अनुसार सर्लाहीमा हालसम्म ६५५ केस दर्ता, जसमध्ये ५४० जना सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म ६० जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ।

कार्यक्रम मनोविमर्शकर्ता दिवानी घिमीरेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा पहिचान नेपालका अब्दुल सहमद (नगमा), ओरेककी दिव्या साह, आशिष सामाजिक सेवा नेपालकी संगिता नेपाली, मुक्ति नेपालकी रिना साह, मानव अधिकारकर्मी मुकेश कुमार मिश्र, दलित अगुवा राजेश पासवान तथा स्वास्थ्य कार्यालय सर्लाही र प्रादेशिक अस्पतालका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।