“अपाङ्गहरुको सामाजिक प्रगतिका लागि हेरचाह र समावेशी समाजको निर्माण” भन्ने नारासहित ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सर्लाहीमा विविध कार्यक्रमसहित मनाइएको छ। नेपाल अपाङ्ग संघ, मलंगवाको आयोजनामा जिल्ला समन्वय समितिको सभाहल, मलंगवामा बुधबार कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका अध्यक्ष नेपाल अपाङ्ग संघ मलंगवाका अध्यक्ष बिरेन्द्र राय रहे भने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका दौरान अपाङ्गता भएका व्यक्तिहरूका हक–अधिकार, पहुँच, समावेशी समाज निर्माण र समान अवसरका विषयमा विस्तृत छलफल गरिएको थियो।

युएनएफपिका प्रतिनिधि बचेलाल महतो, युवा नेता समिम बाबु खान, शिवनाथ राउत, रामकैलाश महतो (भोला) लगायत विभिन्न सहकार्य संस्थाका प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता थियो।

सहभागीहरूले अपाङ्गमैत्री पूर्वाधार, शिक्षा–स्वास्थ्य, सामाजिक सुरक्षा तथा रोजगारीमा समान पहुँच सुनिश्चित गर्न राज्यका सबै तहलाई आग्रह गरे। साथै, कार्यक्रमका आयोजकले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर र सेतो छडी वितरण गरिएको जानकारी दिए।

यसै अवसरमा बिहान मलंगवामा प्रभातफेरि पनि आयोजना गरिएको थियो।