सर्लाही सदरमुकाम मलङ्गवामा ३ वर्षअघि निर्माण सम्पन्न भएको सुविधायुक्त बसपार्क बल्ल संचालनमा आएको छ ।

लामो प्रयासपछि आजदेखि मलङ्गवा नगरपालिका–२, स्थित जिल्ला प्रहरी कार्यालय नजिक निर्मित बसपार्क सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय र मलङ्गवा नगरपालिका कार्यालयमा बसेको बैठकले पुस १ गतेदेखि बसपार्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजदेखि नयाँ बसपार्कबाट बस छुट्न सुरु भएको मलङ्गव नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरेले जानकारी दिए । बस व्यवसायीले मलङ्गवा नगरपालिका–९, मा वर्षौदेखि प्रयोग गर्दै आइरहेको कृषि विकास बैङ्कको जग्गामा रहेको पुरानो बसपार्क छाड्नै मानेका थिएनन् ।

कृषि विकास बैङ्कले आफ्नो जग्गामा रहेको बसपार्क खाली गराइदिन स्थानीय प्रशासनलाई पत्र लेखेरै आग्रह गरिसकेको छ । उक्त जग्गामा आफ्नै भवन बनाउने कृषि विकास बैङ्कको तयारी रहेको छ ।

सुविधासम्पन्न नयाँ बसपार्क निर्माण भएपछि पनि बजारको बिचमा रहेको पुरानो बसपार्कबाटै बस छुट्ने गरेकाले बजार क्षेत्र अस्तब्यस्त बनेको गुनासो निरन्तर आइरहेको थियो । आजदेखि नयाँ बसपार्कमा बस राख्ने र त्यहाँबाट छुटेर राजश्री चोक, टावर चोक हुँदै जिविस चोकमा बस निकाल्ने व्यवस्था मिलाइएको हो ।

घिमिरेका अनुसार टेम्पु, म्याजिकसहितका साना सवारीलाई भने जिविस चौरमा मन्दिर निर्माण भइरहेको स्थल नजिकै पार्किङ गरेर त्यहाँबाट मात्रै छुट्ने व्यवस्था मिलाइएको छ ।

तर आज बिहानैदेखि म्याजिक, टेम्पुलगायत साना सवारी चालकले जिविस चोकमा चक्काजाम गर्दै आफूहरु पनि बसपार्कबाटै छुट्न पाउनुपर्ने माग गरेका छन् । म्याजिक तथा अन्य साना सवारी नयाँ बसपार्क उद्घाटन भएदेखि सोही बसपार्कबाट छुट्ने गरेका थिए ।

तर अहिले आएर नगरपालिका कार्यालयले जिविसको चौरमा पार्किङ गर्न र त्यहीँबाट संचालन हुन भनेपछि विरोध गरिएको हो । म्याजिक तथा अन्य मम्झौला यातायातका संघले हिजो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै बसले झैँ बसपार्कमै पार्किङको सुविधा पाउनुपर्ने र त्यहीँबाट संचालन हुन पाउनुपर्ने माग राखेका थिए ।

सङ्घीय सरकारले ८ करोड ३१ लाख रुपियाँ खर्चिएर निर्माण गरेको बसपार्क केही समयअघि नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको थियो । बसपार्कमा टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतिक्षालय, वर्कशप क्षेत्र, पार्किङसहितको सुविधा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निरन्तर प्रयासपछि बसपार्क सञ्चालन गर्न सफल भएको बताए । सिडिओ कडरियाले जिल्लामा हाजिर भएदेखि नै बसपार्क सञ्चालनका लागि पहल सुरु गरेका थिए ।