सर्लाहीको लालबन्दीमा मोतीविन्दुको समस्या भएका ९७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

लालबन्दी नगरपालिका–५, जरुवा पानीमा नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले सञ्चालन गरेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा ९७ जनाको आँखामा देखिएको मोतीविन्दुको निःशुल्क अप्रेसन गरिएको हो । जानकी आँखा अस्पताल जनकपुरसँग प्राविधिक सहयोग लिएर यसभेगका मोतीविन्दुको समस्या भएका बिरामीको बिना शुल्क शल्यक्रिया गरिएको रेडक्रस लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार जानकी आँखा अस्पतालका डा. अमित यादव नेतृत्वको टोली बिरामीको शल्यक्रियापश्चात जनकपुर फर्किएको छ । शिविरमा सेवा लिन आएका अन्य बिरामीलाई केही समयपश्चात पुनः अप्रेसन क्याम्प राख्ने भनी फर्काउनु परेको रेडक्रस उपशाखाका सभापति घिमिरेले बताए ।

लालबन्दी रेडक्रसले यसरी बारम्बार निःशुल्क आँखा परीक्षण शिविर र मोतीविन्दुको अप्रेसन क्याम्प सञ्चालन गर्दै आइरहेको छ ।