सर्लाही । हिन्दु सम्राट सेना नेपालले सर्लाहीको मलंगवा क्षेत्रमा सञ्चालित निजी विद्यालयहरूलाई क्रिसमस डे (डिसेम्बर २५) को अवसरमा हिन्दु विद्यार्थीहरूलाई जबरजस्ती सेन्टाक्लसको पोसाक लगाउन बाध्य पार्ने, धार्मिक कार्यक्रम थोपर्ने वा हिन्दु आस्थामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि तत्काल बन्द गर्न कडा चेतावनी दिएको छ।

उक्त दिनलाई हिन्दु परम्परा अनुसार तुलसी दिवस का रूपमा मनाउन निजी विद्यालयहरूलाई स्पष्ट निर्देशन दिइएको छ। यस सम्बन्धमा निजी विद्यालयहरूको सामूहिक संगठनहरू PABSON, N-PABSON, सगरमाथा S.E.B.S तथा Saint G.E.B.Sलाई ज्ञापन पत्रमार्फत गम्भीर ध्यानाकर्षण गराइएको  महासचिव राकेश यादवले जानकारी दिए ।

यदि चेतावनीलाई बेवास्ता गरी कुनै पनि विद्यालयमा हिन्दु विद्यार्थीहरूको धार्मिक स्वतन्त्रता उल्लङ्घन भएको पाइएमा, हिन्दु सम्राट नेपाल बाध्य भएर त्यस्ता विद्यालयमा कार्यकर्ता पठाई कार्यक्रममाथि प्रतिबन्ध लगाउने जनाएको छ। यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित विद्यालय प्रशासनले स्वयं वहन गर्नुपर्ने उल्लेख गरिएको छ।