पछिल्ला वर्षमा मधेश प्रदेशमा सञ्चार माध्यम सञ्चालनमा उत्साह देखिएको छ । टिभी, एफएम रेडियो, अनलाइन समाचार पोर्टल, र केही प्रिन्ट मिडिया थपिएका छन् । टिभी र रेडियो प्रतिको आकर्षण घटेको छ भने  अनलाइन पोर्टल खुल्ने क्रम बढेकोे छ । सूचनाको पहुँच विस्तार हुनु सकारात्मक पक्ष हो । तर,  उत्साहसँगै सञ्चार माध्यमको व्यवसायिकता, दिगोपन र गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ ।

यहि तथ्यलाई मध्यनजर गर्दै मधेश प्रदेशको मिडिया काउन्सिलले ९ पुस बुधबार बाराको कलैयामा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा सञ्चार माध्यमको अवस्था, चुनौती र संभावनाहरुको बारेमा छलफल भएको छ ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष ओम प्रकाश खनालले सञ्चार माध्यम सञ्चालनमा उत्साह देखिए पनि व्यवसायिकताको अभाव देखिएको बताए ।

‘मिसन पत्रकारिताबाट व्यवस्था परिवर्तन पछि अबको पत्रकारिता व्यवसायिकताको अभियानमा अघि बढेको छ । तर तीव्र प्रतिश्पर्धा छ, आर्थिक समस्याले गर्दा टिकाउन ठूलो चुनौती देखिन्छ ।’ उनले भने, ‘ विज्ञापन प्राप्त गर्ने सवालमा राष्ट्रिय मिडियाको प्रभाव बढी छ ।’

पर्सामा ३ सय ५० वटा दैनिक, ५५ भन्दा बढी अनलाईन, ११ वटा रेडियो र ४ वटा टिभी सञ्चालनमा रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ बारा शाखाको सचिव पुष्पराज खतिवडाले बारामा मिडियोको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बारामा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक र साहित्यिक पत्रिका गरी एकसय भन्दा बढी, एफएम रेडियो १४ वटा, अनलाईन ६७ वटा रहेको उनले बताए ।

मिडिया काउन्सिलको सदस्य बन्दना झाले मिडियाको अस्तित्व कसरी जोगाउने भन्ने चिन्ता रहेको बताईन् । कसले पत्रकारिता गरिरहेको छ ? किन गरिरहेको छ  ? कसका लागि गरिरहेको छ ? र नयाँ पुस्तालाई के हस्तान्तरण गर्ने ? आजको मुख्य प्रश्न भएको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति अध्यक्ष श्याम प्रसाद बञ्जाराले गरिब विपन्न जनताको घरदैलोमा पुग्ने सञ्चारमाध्यमको समस्या समाधान हुन सकेको खण्डमा मात्रै लोकतन्त्र बलियो हुने बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समिति संयोजक केसी लामिछानेले स्थानीय मिडियामा टेन्डरका सूचना छाप्दा मान्यता पाउने व्यवस्था मिलाउनु आवश्यक भएकोमा जोड दिए । उनले स्वरोजगारमूलक मिडिया जोगाउन मधेश प्रदेश सरकारले काम गर्नुपर्ने बताए ।

महासंघ सचिव अशोक तिवारीले थाना चौकी धाउने पत्रकारका कारण राम्रो लेख्ने पत्रकार जोखिममा परेको बताए ।

Media-Council-1-1766601061.jpeg
मधेश प्रदेशकाे पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मिडियालाई समयानुकुल परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

खाली पेट राखेर अत्याचार विरुद्ध आवाज उठाउन नसकिने उनको भनाई छ । ‘एउटा असल पत्रकारको मोबाईलमा पैसा हुँदैन, मोटरसाइकलमा तेल हुँदैन भने समाज र राज्यका लागि चिन्ताको विषय बन्नुपर्छ ।’ उनले भने, ‘किनकी यो जीवन पद्धतीसँग जोडिएको छ ।’

सरकारी सूचना प्रकाशनका लागि प्रदेशका मिडिया सक्षम छन भनेर प्रदेश सरकारले ऐन ल्याउनुपर्ने र त्यसका लागि काउन्सिलले सहयोग गर्नुपर्ने उनले बताए ।