नवलपुर मलंगवा सडक अन्तर्गत लालबन्दी नगरपालिका–२, जुटपानीमा केहीबेरअघि ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।

नातिनीलाई विद्यालयमा खाजा पुर्याएर साइकलमा घरतर्फ फर्कदै गर्दा जुटपानीस्थित लर्डव्राइड वीजडम बोडङअगाडि नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्वरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका २ का ६९ वर्षीय मिन्दुक दोर्जे लोप्चनको ज्यान गएको वडाध्यक्ष किरणकुमार पासवानले जानकारी दिए ।

दुर्घटना लगत्तै स्थानीयले ट्रकमा ढुङ्गामुढा गरेका छन् । मृतक लोप्चनको शव अहिले घटनास्थलमै रहेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन गर्ने काम गरिरहेको बताएका छन् ।

दुर्घटनास्थलमा अहिले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् । बृद्धलाई ठक्कर दिने ट्रक पनि घटनास्थलमै रहेको छ ।