सर्लाहीमा शनिवार भएका दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–६, हरिपुर्वा पोखरी नजिक इँटा लोड गरिएको ट्याक्टरको ठक्करबाट स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको हो । बालिकालाई बाटो काट्ने क्रममा मधेश प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइते बालिकालाई प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि इसिजी जाँचपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

यसैबीच, सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा ट्याक्टर नहरमा पल्टिँदा चालकको मृत्यु भएको छ । हरिवनस्थित इन्दुशङ्कर चिनी मिलमा उखु अनलोड गरेर फर्कँदै गरेको ज १ त ७०१३ नम्बरको ट्याक्टर नहरमा पल्टिँदा चालक धनकौल गाउँपालिका–४, महिनाथपुरका ३० वर्षीय अरुण राय यादवको ट्याक्टरको इन्जिनले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर नहरबाट निकालेर इलाका प्रहरी कार्यालय हरकठवामा राखिएको छ । केही दिनदेखि बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम रहेकाले सवारी साधन चलाउँदा गति सिमित गर्न र बत्ती बालेर मात्रै चलाउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।