दशकौंसम्म मध्यपूर्वको राजनीतिमा आफ्नो दबदबा कायम राखेका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम घडी अत्यन्तै दु:खद् रह्यो। जुन शासन उनले ३६ वर्ष लगाएर निर्माण गरेका थिए, त्यो संरचना उनको मृत्युको समयमा बालुवाको महल झैं ढल्न पुग्यो। अमेरिकी र इजरायली संयुक्त सैन्य कारबाहीले खामेनीको अन्त्य मात्र गरेन, बरु इरानको ‘इस्लामिक गणतन्त्र’ को जग कति खोक्रो भइसकेको थियो भन्ने यथार्थ पनि संसारसामु ‘छर्लङ्ग पारिदियो।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ८६ वर्षको उमेरमा निधन भएको छ। इरानी राज्य सञ्चारमाध्यमले आइतबार बिहान यसको पुष्टि गरेका हुन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार तेहरानस्थित खामेनीको आवास (कम्पाउन्ड)मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा उनी मारिएको घोषणा गरेपछि यो खबर सार्वजनिक भएको हो। उनी मारिएको कुरा इरानका सञ्चारमाध्यमले पुष्टि गरेका हुन्।
ट्रम्पले खामेनी र अन्य इरानी अधिकारीहरू अमेरिकी जासुसी संयन्त्र र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उम्कन नसकेको बताएका छन्।इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नातिको पनि मृत्यु भएको छ ।
सर्वोच्च नेतृत्व

१९ अप्रिल १९३९ मा जन्मिएका आयतोल्लाह अली खामेनीले सन् १९८९ मा क्रान्तिका पिता अयातोल्लाह खोमेनीको निधनपछि इरानको नेतृत्व सम्हालेका थिए। उनले १९७९ को इस्लामिक क्रान्तिको कट्टरपन्थी धारलाई ३७ वर्षसम्म जीवित राखे, जसको मुख्य उद्देश्य इरानलाई पश्चिमा (विशेष गरी अमेरिकी) प्रभावबाट मुक्त राख्नु थियो। उनले इरानलाई केवल एक धार्मिक देशको रूपमा मात्र होइन, बरु एक शक्तिशाली सैन्य शक्तिको रूपमा विकास गरे।

उनकै नेतृत्वमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) एक विशाल राजनीतिक र आर्थिक साम्राज्य बन्यो। लेबनानकोहिजबुल्लाह, प्यालेस्टाइनको हमास र येमेनका हुथीहरूसँग मिलेर उनले ‘प्रतिरोधको धुरी’ (Axis of Resistance) खडा गरे, जसले मध्यपूर्वमा इरानको प्रभाव विस्तार गर्‍यो। खामेनी पहलवी राजतन्त्रको अन्त्य गर्ने क्रान्तिका वैचारिक शक्ति थिए भने, उनले सैन्य र अर्धसैनिक संयन्त्रलाई आकार दिए। यसैले इरानलाई शत्रुहरूबाट बचाउने मात्र नभई यसको सिमानाभन्दा धेरै परसम्म इरानको प्रभाव विस्तार गर्न मद्दत गर्‍यो। सन् १९८० को दशकमा उनले राष्ट्रपतिका रूपमा इरान–इराक युद्धका कठिन वर्षमा देशको नेतृत्व गरेका थिए।

खामेनीको सम्पूर्ण राजनीति ‘अमेरिका-विरोध’ मा आधारित छ। उनले अमेरिकालाई “ठूलो शैतान” र इजरायललाई “सानो शैतान” को संज्ञा दिँदै आएका छन्। यही विचारधाराका कारण उनले मध्यपूर्वमा आफ्ना ‘प्रोक्सी’ (प्रतिनिधि) समूहहरू निर्माण गरे। खामेनीले आणविक हतियारलाई ‘हराम’ (धार्मिक रूपमा निषेधित) भन्दै फतवा जारी गरे पनि इजरायल र अमेरिकाले इरानको युरेनियम संवर्द्धनलाई सधैं शंकाको नजरले हेरे। यही शंका र अविश्वास नै अन्ततः सन् २०२६ को यो भीषण सैन्य टकराव र उनको पतनको मुख्य कारण बन्यो।

‘प्रतिरोधको धुरी’ को पतन र एक्लोपन

एक दशकअघिसम्म इरानको शक्ति आफ्नो चरम बिन्दुमा थियो। तेहरानबाट निर्देशित हुने ‘प्रतिरोधको धुरी’ ले इराक, लेबनान, यमन र गाजासम्म आफ्नो प्रभाव जमाएको थियो। सिरियामा बसर अल-असदको शासन इरानी सेनाकै बलमा टिकेको थियो। तर, खामेनीको अन्तिम घडीमा ती कुनै पनि सहयोगी काम लागेनन् ।

सेप्टेम्बर २०२४ मा हसन नसरल्लाहको हत्यापछि हिजबुल्लाहको उठ्न नसक्ने गरि बजारिएकाे थियाे। इजरायलको निरन्तर बमबारीले गर्दा कुनै समय इरानको सबैभन्दा भरपर्दो यो मिलिसिया अहिले आफ्नै अस्तित्व जोगाउन संघर्षरत छ।

त्यस्तै  डिसेम्बर २०२४ मा सिरियाली विद्रोहीहरूले असदको सत्ता ढालेपछि इरानले आफ्नो सबैभन्दा ठूलो क्षेत्रीय मित्र गुमायो। जुन असदलाई जोगाउन खामेनीले अर्बौं डलर र हजारौं सैनिक खर्च गरे, उनी नै अन्त्यमा शरणार्थी बन्न पुगे। यता युक्रेन युद्धमा इरानले रूसलाई घातक ‘शाहेद’ ड्रोन दिएर गुन लगाएको थियो। तर, इरानमाथि अमेरिकी-इजरायली मिसाइल बर्सिँदा क्रेमलिनले केवल तमाशा हेरेर बस्यो। यसले प्रमाणित गर्‍यो कि अन्तर्राष्ट्रिय राजनीतिमा खामेनीले केवल ‘स्वार्थको सम्बन्ध’ मात्र गाँसेका थिए।

इरान मामिलाका विज्ञ करिम साद्जादपुरले खामेनीको सत्तालाई “जम्बी शासन” (Zombie Regime) को संज्ञा दिएका छन्। यो यस्तो शासन थियो जो बाहिरबाट डरलाग्दो देखिन्थ्यो, तर भित्रबाट मरिसकेको थियो। यसका दुई मुख्य कारण थिए । जाे हुन् आफ्नै नागरिकमाथि दमन गर्ने  र प्रणालीगत अक्षमता । जसले गर्दा उनकाे शासन एक दिनमै चुरचुर भयाे ।

उनले  सन् १९९९ देखि २०२६ सम्मका हरेक जनविद्रोहमा खामेनीले सुधारको सट्टा ‘गोली’ रोजे। बासिज मिलिसिया र पुलिस प्रयोग गरेर आफ्नै जनतालाई यातना दिनु र मार्नुले शासनको नैतिक वैधता पूर्ण रूपमा समाप्त भइसकेको थियो। विशेष गरी डिसेम्बर २०२५ बाट सुरु भएको आर्थिक विद्रोहमा ७,००० भन्दा बढीको ज्यान जानु पतनको अन्तिम विन्दु बन्न पुग्याे।

सन् २०२० मा आफ्नै सेनाले युक्रेनी विमान खसालेर १७६ निर्दोषको ज्यान लिनु र २०२४ मा राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर खोज्न छिमेकी टर्कीको ड्रोनमा भर पर्नुले इरानको ‘महासक्ति’ हुने दाबी कति खोक्रो थियो भन्ने देखायो।

शोक र खुसीयाली

उनकाे मृत्युले अहिले इरानमा शोक र खुसीयाली दुवै छाएकाे छ। खामेनीको हत्यापछि इरानमा आधिकारिक रूपमा ४० दिने शोक घोषणा गरिएको छ। सरकारी संयन्त्रहरू बदला लिने कसम खाइरहेका छन्।तर, अर्कोतिर इरानका गल्लीहरूमा र विशेष गरी विदेशमा रहेका इरानी समुदाय (Diaspora) मा स्वतस्फूर्त खुसीयाली मनाइरहेका छन् । यस्तै सिरियाका सडकहरूमा मानिसहरूले मिठाई बाँडेर खामेनीको अन्त्यको उत्सव मनाएका छन्। ३६ वर्षको शासनमा खामेनीले यति धेरै शत्रु कमाएका थिए कि उनको मृत्युमा आँसु बगाउनेहरू भन्दा खुसी हुनेहरूको संख्या ठूलो देखियो।

खामेनीबारे अमेरिका र इजरायल

पछिल्लो समय, जुन २०२५ मा भएको १२ दिने युद्ध र त्यसपछि इरानले इजरायलमाथि गरेको प्रतिशोधात्मक आक्रमणपछि इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको ‘अस्तित्व रहिरहनु हुँदैन’ भन्ने विचार दिएका थिए । उनले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै इरानको नेतृत्वबाट उनलाई हटाउनु नै इजरायली सैन्य अपरेसनको प्रमुख उद्देश्यमध्ये एक भएको बताएका थिए ।

फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणका क्रममा पनि इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी नागरिकहरूलाई सम्बोधन गर्दै आफ्नो सरकार आफैँ सम्हाल्न आह्वान गरेका छन्, जसले अमेरिका इरानमा सत्ता परिवर्तनको पक्षमा रहेको सङ्केत गर्छ ।

ऐतिहासिक

सन् १९८० को दशकमा इराक विरुद्धको युद्धमा ‘शहीद’ हुन तयार हुने इरानीहरू २०२६ सम्म आइपुग्दा आफ्नै शासन विरुद्ध उभिन तयार भए। खामेनीले इरानलाई ‘स्वतन्त्र’ र ‘शक्तिशाली’ बनाउने दाबी गरे पनि, अन्त्यमा उनले इरानलाई गरिबी, प्रतिबन्ध, एक्लोपन र विनाशकारी युद्ध बाहेक केही दिन सकेनन्। खामेनीको अन्त्यसँगै इरानमा एउटा अध्याँरो अध्यायको अन्त्य भएको छ, तर अबको बाटो झन् चुनौतीपूर्ण छ। के इरानले नयाँ प्रजातान्त्रिक दिशा लिनेछ वा सत्ताको लागि नयाँ रगतको खोलो बग्नेछ? यो प्रश्न अहिले विश्वको सामुन्ने छ।

अन्तरिाष्ट्रय सञ्चारमाध्यमहरुको सहयोगमा