सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवामा २५ वर्षीया रुपा साहको झुण्डिएर मृत्यु भएको छ। आइतबार बिहान करिब १० बजे आफ्नै घरको सुत्ने कोठामा बाँसको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्र.चौ. नारायणपुरबाट प्र.स.नि. सुबोध साहको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित गरिएको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.नि. बिन्देश्वर यादवको नेतृत्वमा सोको टोली समेत घटनास्थल पुगेको थियो।

माइती पक्षका आफन्तहरू आएपछि दिउँसो १२ बजेदेखि मुचुल्का कार्य सुरु गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको थियो।

पोस्टमार्टम सम्पन्न भएपछि साँझ मृतकका ससुरा शम्भु प्रसाद साहले शव बुझेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सर्लाहीमा पछिल्लो समय झुण्डिएर मृत्युका घटनाहरू बढ्दै गएको देखिएको छ। केही दिनअघि मात्रै जिल्लाको एकै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

लगातार यस्ता घटनाहरू दोहोरिन थालेपछि स्थानीय बासिन्दामा त्रास तथा चिन्ता बढेको छ। यस्ता घटनाको कारणबारे स्पष्ट हुन नसकेको भए पनि पारिवारिक विवाद, मानसिक तनाव तथा सामाजिक कारणहरू जिम्मेवार हुन सक्ने अनुमान गरिएको छ।

प्रहरीले प्रत्येक घटनामा अनुसन्धान जारी राखेको जनाएको छ भने सचेतना अभिवृद्धि र मानसिक स्वास्थ्यप्रति ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।