सर्लाहीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।

नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पुगेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ ।

आज साँझ व्रतालुले आआफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गान्हो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठुलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

साँझ व्रतालुहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

चैती छठ पर्व जिल्ला सदरमुकाम मलंगवासहित जिल्लाभरको सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी, तलाऊ तथा ती पालिका भएर बग्ने खोला, नहर किनारमा धार्मिक विधिपूर्वक मनाउँदै आइएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

व्रतालुले भोलि चौथो एवम् अन्तिम दिन अर्थात् एकाबिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दो¥याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिइ चैती छठ पर्व सम्पन्न गर्नेछन् ।