पूर्वपश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–४, मा रहेको हरिवन नगर अस्पताल सासापुरमा इर्मेजेन्सी र बेड भर्ना सेवा सुरु भएको छ ।

हरिवन नगरपालिकाले आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी हिजोबाट इर्मेजेन्सी सेवा शुभारम्भ गराएको हो । नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाल, वडाध्यक्षहरु र चिकित्सक भएर इर्मेजेन्सी सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

अस्पतालमा अहिले एक जना विशेषज्ञ चिकित्सकसहित तीन जना मेडिकल अधिकृत, पाँच जना पारा मेडिक्स, सात जना नर्सिङ स्टाफ, दुई जना ल्याब टेक्निसियन, एक जना रेडियोग्राफी टेक्निसियन, छ जना कार्यालय सहयोगी र चार जना स्वीपर कार्यरत छन् ।

 

आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी र कर्मचारी नियुक्त गर्ने तयारीसहित इर्मेजेन्सी सेवाको सुरुवात गरिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले उज्यालो अभियानलाई जानकारी दिए ।

अस्पतालमा एम्बुलेन्स सेवासमेत संचालनमा रहेको छ ।

मेयर बुढाथोकीले नगरवासीलाई सुलभ दरमा आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित इर्मेजेन्सी र बेड भर्ना सेवा सुरु गरिएको बताए ।

सर्लाहीमा यसअघि पूर्वपश्चिम राजमार्गमै पर्ने नगर अस्पताल लालबन्दी र प्रादेशिक अस्पताल मलंगवामा इर्मेजेन्सी सेवा संचालनमा रहेको छ ।