सर्लाही, चैत १५ — सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विभिन्न वडाहरूमा करेसाबारी खेतीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को सहकार्य तथा World Vision International Nepal (WVI Nepal) को आर्थिक सहयोगमा, “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।

अभिमुखीकरण विशेषगरी गर्भवती महिला, सुत्केरी आमा तथा कुपोषित बालबालिका भएका घरपरिवारलाई लक्षित गरिएको छ। सहभागीहरूलाई घरमै करेसाबारी खेतीको महत्व, तरकारी उत्पादन प्रविधि तथा स्थानीय स्रोत–साधनको उपयोगबारे जानकारी दिइएको छ।

कार्यक्रमका लागि मापदण्ड अनुसार लाभग्राही छनोट गरी पालिका तथा वडा स्तरबाट सिफारिस गरिएको छ। जसअनुसार हरिपुर्वा नगरपालिकाबाट ४० जना र पर्सा गाउँपालिकाबाट ५० जना लाभग्राही सहभागी भएका छन्।

पालिका समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा कृषि शाखाका प्राविधिक प्रभु नारायण चौधरी र अनिल यादवले प्रशिक्षण दिएका छन्। साथै RRPK/WVI Nepal मार्फत मौसमी बिउ तथा आवश्यक कृषि सामग्री समेत वितरण गरिएको छ।

स्थानीय भाषामा सहजकर्तामार्फत प्रदर्शन (डेमोन्स्ट्रेशन) सहित सञ्चालन गरिएको अभिमुखीकरणले सहभागीहरूको बुझाइलाई थप प्रभावकारी बनाएको जनाइएको छ।

उक्त जानकारी राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) का ग्रीन ग्रोथ अफिसर सुमोना खनालले दिनुभएको हो।