सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा “सुरक्षा रक्षक समूह तथा प्रतिकार्य समूह” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साहको अध्यक्षता तथा मुक्ति नेपालकी कार्यकारी निर्देशक एवं महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष श्याम कुमारी साहको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख नगिना राय, मानव अधिकारकर्मी मुकेश कुमार मिश्र, अब्दुल सहमद (नगमा), इन्सेक प्रतिनिधि बुधन साह, महिला मानव अधिकार सञ्जालकी अध्यक्ष रम्भा झा, दिवानी घिमिरे तथा ओरेककी जिल्ला अधिकृत गुन्जा साह, आयोजक आशिष सामाजिक सेवा नेपाल सर्लाहीका संयोजक संगिता नेपाली लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविका, अपाङ्गता अगुवा तथा युवा सञ्जालका युवाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

मुक्ति नेपाल, सिराहा (गोलबजार) मार्फत मधेश प्रदेशका ३२ वटा पालिकामा सञ्चालन गरिएको उक्त कार्यक्रम मलंगवामा सम्पन्न गरिएको हो। कार्यक्रममा महिला तथा बालबालिकामाथि हुने हिंसा (VAWG) न्यूनीकरण, समुदायस्तरमा सुरक्षा संयन्त्र सुदृढीकरण, पीडितको पहिचान तथा सहयोग प्रणाली प्रभावकारी बनाउने विषयमा मुक्ति नेपालकी सिर्जना बस्नेत र सुरज साहले अभिमुखीकरण दिएका थिए।

कार्यक्रममा सहभागीहरूलाई समुदायमा हुने हिंसा रोकथाम, सचेतना अभिवृद्धि, अपाङ्गता भएका व्यक्तिको सहज पहुँच तथा सरोकारवाला निकायबीच सहकार्य गर्दै सुरक्षित समाज निर्माण गर्ने विषयमा जोड दिइएको मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहले बताइन्।

त्यसैगरी उपप्रमुख शकुन्तला देवी साहले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरिन्।

कार्यक्रमलाई मलंगवा नगरपालिकाका १२ वटै वडामा विस्तार गर्ने लक्ष्यसहित सुरक्षा रक्षक समूह तथा प्रतिकार्य समूह गठन गरिएको आयोजकले जनाएको छ।