सर्लाहीको मलंगवा नगरपालिकामा सञ्चालन गरिएको दुई दिने निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा १५२ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। महिलामा बढ्दो प्रजनन स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा पहुँच पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

मलंगवा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा ओरेक  र सुनौलो परिवार नेपालको सहजीकरण तथा सहयोगमा सम्पन्न शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, आङ खस्ने समस्याको परीक्षण, परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा, मनोपरामर्श तथा स्वास्थ्य सचेतनामूलक सेवा प्रदान गरिएको थियो। शिविरमा नगर क्षेत्रका विभिन्न वडाबाट महिलाहरू सहभागी भएका थिए।

स्वास्थ्य शाखाका अनुसार शिविरमा ९३ जनाको भिआइए परीक्षण गरिएकोमा २ जनामा भिआइए पोजेटिभ देखिएको छ। त्यसैगरी ४५ जनामा सेतोपानीको समस्या पहिचान गरिएको, ६ जनालाई रिङ राखिएको तथा आङ खस्ने समस्याअन्तर्गत १ जनामा पहिलो डिग्री, ४ जनामा दोस्रो डिग्री र १ जनामा चौथो डिग्रीको समस्या भेटिएको जनाइएको छ। पहिचान भएका बिरामीलाई आवश्यक परामर्श तथा थप उपचारका लागि रेफरसमेत गरिएको स्वास्थ्यकर्मीले बताएका छन्।

शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रञ्जित कुमार साह सहित स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो। महिलाको स्वास्थ्य अवस्थाको परीक्षणसँगै आवश्यक औषधि वितरण र स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरिएको थियो।

ओरेककी जिल्ला अधिकृत गुञ्जा कुमारी साह का अनुसार शिविरमा जडीबुटी उपचार, लैंगिक हिंसासम्बन्धी अभिमुखीकरण तथा १२७ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको थियो। महिलामाथि हुने हिंसा, मानसिक तनाव तथा सामाजिक समस्याबारे समेत परामर्श दिइएको उहाँले बताउनुभयो।

स्थानीय स्तरमै विशेषज्ञ सेवा प्राप्त भएपछि आफूहरू लाभान्वित भएको सेवाग्राहीहरूले बताएका छन्। आर्थिक अभाव तथा स्वास्थ्य संस्थासम्म सहज पहुँच नहुँदा नियमित परीक्षण गर्न नसकेका महिलाले शिविरबाट ठूलो राहत महसुस गरेको बताएका छन्।

मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। उहाँले समयमै परीक्षण र उपचार गर्न सके धेरै जटिल रोगबाट बच्न सकिने भएकाले महिलालाई नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो। शनिबार आयोजित एक कार्यक्रमबीच नगेन्द्र प्रसाद यादव ले शिविरको उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय महिलाको सहभागिता रहेको थियो।