महिला पुनर्स्थापना केन्द्र (ओरेक) सर्लाहीको समन्वय तथा कौडेना गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको निःशुल्क प्रजनन स्वास्थ्य शिविरबाट ३२५ भन्दा बढी महिला लाभान्वित भएका छन्। गाउँपालिकाको वडा नं. १ स्थित सुखचैना स्वास्थ्य चौकी तथा वडा नं. ५ स्थित छपकैया स्वास्थ्य चौकी मा सञ्चालन गरिएको शिविरमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शिविरमार्फत प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श, स्थानीय जडीबुटी सम्बन्धी जानकारी, लैङ्गिक हिंसा विरुद्ध सचेतना, स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। स्वास्थ्य सेवाको पहुँच सीमित रहेका ग्रामीण भेगका महिलाहरूले शिविरमार्फत प्रत्यक्ष रूपमा लाभ लिएका छन्।

शिविरमा १४२ जनाको भीआइए (VIA) परीक्षण तथा १६३ जनाको एचपीभी (HPV) परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ४७ जनामा सेतो पानीको समस्या देखिएको, १० जनाको पाठेघरमा घाउ भेटिएको तथा २ जनाको भीआइए रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। त्यसैगरी ८ जनालाई रिङ (IUCD) लगाइएको, ३ जनाले परिवार नियोजनका साधन लिएका, ३ जनाको रिङ निकालिएको तथा २ जनामा थर्मो उपचार गरिएको थियो।

शिविरबाट महिलाहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै प्रजनन स्वास्थ्य, परिवार नियोजन, पाठेघरको मुखको क्यान्सर रोकथाम, स्थानीय जडीबुटीको उपयोग तथा लैङ्गिक हिंसासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेका छन्। सहभागी महिलाहरूले यस्ता शिविरले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्यसम्बन्धी जानकारी पाउन सहज भएको बताएका छन्।

यसैबीच, ओरेक र सुनौलो परिवार नेपालको सहजीकरण तथा सहयोगमा मलंगवा नगरपालिकामा सञ्चालन गरिएको दुई दिने निःशुल्क प्रजनन स्वास्थ्य शिविरमा १५२ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो।

कौडेनामा सञ्चालन गरिएको शिविरले स्थानीय समुदायमा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै महिलाहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको ओरेक सर्लाहीकी जिल्ला कार्यक्रम अधिकृत गुञ्जा कुमारीले जानकारी दिइन्।