सर्लाही, असार ६ – मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आयोजित “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सर्लाहीको लालबन्दीस्थित नमस्ते होटलमा सम्पन्न भएको छ।

मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष वन्दना कुमारी झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रमुख प्रशासनिक अधिकृत ओमविक्रम कटुवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूसँग पत्रकारिताको मर्यादा, विश्वसनीयता, पेशागत उत्तरदायित्व तथा सामाजिक उत्तरदायित्वका विषयमा अन्तरक्रिया गरिएको थियो। साथै सहभागी सञ्चारकर्मीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुङ्गेलीले स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिता प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। उनले पत्रकारिताको विकास र संस्थागत सुदृढीकरणका लागि प्रदेश सरकारले आवश्यक कानूनी तथा नीतिगत व्यवस्था गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरिन्।

स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताको प्रवर्द्धनका लागि आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको अध्यक्ष वन्दना कुमारी झाले बताइन्। पत्रकारले भाषा, शैली र प्रस्तुतीकरणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

मिडिया काउन्सिल मधेश प्रदेशले पत्रकारितामा आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा पेशागत उत्तरदायित्व अभिवृद्धिका लागि मधेश प्रदेशका आठवटै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

कार्यक्रमको सञ्चालन  मन्त्रालयका प्रमुख प्रशासनिक अधिकृत ओमविक्रम कटुवालले गरेका थिए।