सर्लाही, असार २६। बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि पुनः जनसेवामा फर्किएको बताएका छन्। उनले शुक्रबार सार्वजनिक गरेको लामो धन्यवाद तथा प्रतिबद्धता सन्देशमार्फत आफू १७५ दिनको निलम्बनपछि पुनः नगरबासीको सेवामा फर्किएको जानकारी दिएका हुन्।

नगरप्रमुख कुशवाहाले विशेष अदालतको असार २३ गतेको फैसलाले आफू निर्दोष रहेको पुष्टि भएको उल्लेख गर्दै यसलाई सत्य, न्याय र धैर्यको विजयको रूपमा व्याख्या गरेका छन्। उनले न्यायालयप्रति सम्मान व्यक्त गर्दै कठिन समयमा साथ दिने बलरा नगरबासी, शुभेच्छुक, पत्रकार तथा सामाजिक अभियन्ताप्रति आभार प्रकट गरेका छन्।

उनले २०८२ साल पुस ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि झुटो आरोपपत्र दायर गरेपछि आफू निलम्बनमा परेको उल्लेख गर्दै उक्त आरोप राजनीतिक षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्। यद्यपि विशेष अदालतले आफू लगायत सबै आरोपितलाई निर्दोष ठहर गरेको उनले बताएका छन्।

नगरप्रमुख कुशवाहाले आफ्नो अनुपस्थितिमा नगरपालिकाको सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्दै नयाँ ऊर्जा र प्रतिबद्धताका साथ जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घट्दो बजेट, कार्यपालिका बैठकमा बहुमतको अभाव, टुक्रे योजना, समन्वयको कमी लगायत चुनौतीका बाबजुद नगरको विकासलाई निरन्तरता दिने प्रयास जारी रहने उनको भनाइ छ।

साथै उनले भविष्यमा पनि जनताको हित र जनादेशअनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि दबाब वा सम्झौतामा नझुक्ने बताएका छन्। अन्त्यमा उनले बलरा नगरको समृद्धि र विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।