हरिवन नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेको छ ।

१० औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख हरिमाया घलानले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै ६५ करोड १८ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । संघीय सरकारकाबाट हस्तान्तरित अनुदान ३९ करोड ५९ लाख, राजस्व बाँडफाँडबाट प्राप्त रकम १६ करोड ४८ लाख ८३ हजार, प्रदेश सरकारबाट हस्तान्तरित अनुदान दुई करोड ७४ लाख र आन्तरिक आय स्रोत सात करोड १० लाख हुने अनुमान गरिएको छ ।

बजेटमा सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकता दिइएको छ । बजेट सार्वजनिक कार्यक्रमकै अवसरमा आइतबार नै हरिवन नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालका अनुसार, नगर सभाले कर्मचारीको मनोबल उच्च बनाउँदै सेवाप्रति थप लगनशील बनाउन आगामी आर्थिक वर्षदेखि नगरपालिका मातहत कार्यरत शिक्षक र कर्मचारीको पारिश्रमिक १० प्रतिसतले वृद्धि गर्ने निर्णय पारित गरिएको छ ।