सर्लाही, साउन १ — मलंगवा नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को १६औँ नगरसभा बिहीबार नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।

नगर प्रमुख नगेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, वडा नं. १ देखि १२ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। नगर प्रमुख यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नगरवासीलाई गुणस्तरीय सेवा प्रवाह, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ तथा समग्र नगर विकासलाई प्राथमिकतामा राखिएको बताए।

उनले आफ्नो कार्यकालमा नगरपालिकामा गर्न बाँकी रहनेजस्तो कुनै काम नरहेको दाबी गर्दै अधुरा रहेका विकास निर्माणका काम सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे। साथै, नगरका सडक, शिक्षा, स्वास्थ्य, ढल व्यवस्थापनलगायत आधारभूत सेवामा सुधार गर्दै निर्माणाधीन नगरपालिकाको नयाँ प्रशासनिक भवनमा कार्यालय स्थानान्तरणको कामलाई समेत अगाडि बढाइने जानकारी दिए।

नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि जनप्रतिनिधिहरूले आ–आफ्ना जिज्ञासा, सुझाव तथा धारणा राखेका थिए। उठाइएका प्रश्नहरूको जवाफ नगर प्रमुख यादवले दिएका थिए। छलफलपछि आगामी आर्थिक वर्षका विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यस कार्यकालका निर्वाचित जनप्रतिनिधिहरूका लागि यो अन्तिम नगरसभा भएकाले कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको थियो।

कार्यक्रममा उपप्रमुख शकुन्तला देवी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी लगायत जनप्रतिनिधिहरूले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन प्रमोद मण्डलले गरेका थिए।