जनकपुरधाम, १४ साउन। मधेश प्रदेशमा पछिल्ला दिनहरूमा विकसित घटनाक्रम र त्यसबाट सिर्जित तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेशवासीलाई शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गर्नुभएको छ।
उहाँले मधेश प्रदेश विभिन्न धर्म, भाषा, जातजाति र संस्कृतिको साझा थलो भएकाले कुनै पनि घटनालाई साम्प्रदायिक वा धार्मिक रूपमा व्याख्या गरी सामाजिक एकतामा आँच पुग्ने गतिविधिबाट टाढा रहन सबैसँग आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट, भ्रामक र उत्तेजना फैलाउने सामग्री प्रसारण वा साझा नगर्न पनि मन्त्री महतोले अनुरोध गर्नुभएको छ।
सार्वजनिक अपिलमार्फत प्रदेश सरकार नागरिकको जिउधनको सुरक्षा, शान्ति स्थापना तथा कानूनको प्रभावकारी कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको र अवस्था निरन्तर निगरानीमा राखिएको जनाइएको छ।
मन्त्री महतोले कानूनविपरीत हिंसा, तोडफोड, आगजनी, घृणा फैलाउने अभिव्यक्ति वा सार्वजनिक शान्ति भंग गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी दिनुभएको छ।
उहाँले धार्मिक अगुवा, जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण प्रदेशवासीलाई सामाजिक एकता र सहिष्णुता जोगाउन सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ। कुनै पनि अफवाह वा उक्साहटमा नपरी आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र प्रशासनसँग आवश्यक समन्वय गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ।
मन्त्री महतोले मधेश प्रदेशको बलियो आधार नै शान्ति, सद्भाव, सहअस्तित्व र आपसी सम्मान भएको उल्लेख गर्दै सबै पक्षले जिम्मेवारीपूर्वक व्यवहार गरे मात्र प्रदेशमा स्थायी शान्ति र सामाजिक एकता कायम रहने विश्वास व्यक्त गर्नुभएको छ।