सर्लाहीको हरिवन स्थित जनजागृती माध्यमिक विद्यालय बेतालीमा अध्ययनरत चार जना विद्यार्थीहरू आज चौँथो बालकृष्ण वाग्ले स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

कक्षा ८ बाट समान उत्कृष्ट अङ्क ल्याई कक्षा ९ मा अध्ययनरत अप्सरा गौतम, सुजाता श्रेष्ठ, हिराकाजी थापा मगर र आयुष माझीलाई पुरस्कृत गरिएको विद्यालयले बताएको छ।

उहाँहरूलाई आज एक विशेष समारोहका बिच जनही १ हजार ९ सय रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो।



वि.सं. २०८० सालमा वाग्ले परिवारले विद्यालयमा स्थापना गरेको १ लाख रुपैयाँको ‘बालकृष्ण वाग्ले स्मृति अक्षय कोष’को ब्याजबाट हरेक वर्ष कक्षाबाट उत्तीर्ण हुने उत्कृष्ट विद्यार्थीहरूलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ।

​कार्यक्रममा प्रमुख अतिथि हरिवन वडा नम्बर ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना र कोष संस्थापक स्वर्गीय बालकृष्ण वाग्लेकी धर्मपत्नी पवनकुमारी वाग्लेले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

​शिक्षक सन्तोष दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रप्रसाद भट्टराई, प्रधानाध्यापक चन्द्रमोहन झा तथा बालकृष्ण वाग्लेका सुपुत्र चूडामणि वाग्लेले पुरस्कारको महत्त्व र शिक्षामा यसले पुर्‍याउने योगदानबारे आफ्नो धारणा राख्नुभएको थियो।

​यसअघि २०८० सालमा शिवानी बोम्जन र तेजबहादुर बस्नेत, २०८१ मा अन्जली स्याङताङ र सबिन राई तथा २०८२ मा धनकुमारी मंग्रान्ती र ईश्वर बिकले यो पुरस्कार प्राप्त गरिसक्नुभएको छ।