विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट १–७ / श्रावण १६–२२, २०८३) को अवसरमा स्तनपानको महत्त्वबारे समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्लाहीमा सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को साझेदारी तथा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका को समन्वयमा सञ्चालित “बालसमृद्धि र एकीकृत हातेमालो परियोजना” अन्तर्गत हरिपुर्वा नगरपालिका–३ र पर्सा गाउँपालिका–५ मा उक्त कार्यक्रम आयोजना गरिएको हो।

सडक नाटकमा गर्भवती महिला, सुत्केरी आमा, परिवारका सदस्य, किशोर–किशोरी, स्थानीय समुदाय, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सम्बन्धित निकायका कर्मचारी तथा अन्य सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान सुरु गर्ने, पहिलो छ महिनासम्म शिशुलाई केवल आमाको दूध मात्र खुवाउने, छ महिनापछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिने तथा स्तनपान प्रवर्द्धनमा परिवार, समुदाय र कार्यस्थलको सहयोगको महत्त्वबारे सन्देश प्रवाह गरिएको थियो।

सहभागीहरूले सडक नाटक जनचेतना अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्तनपानसम्बन्धी सही जानकारी समुदायसम्म सहज रूपमा पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

आयोजक संस्थाका अनुसार विश्व स्तनपान सप्ताहको अवसरमा सञ्चालन गरिएका यस्ता जनचेतनामूलक कार्यक्रमहरूले स्तनपान प्रवर्द्धन, आमा तथा शिशुको स्वास्थ्य र पोषण सुधार तथा स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) का फिल्ड कर्मचारी नितेश सिंह र उपेन्द्र यादवका अनुसार विश्व स्तनपान सप्ताहका अवसरमा समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।