सर्लाहीको बागमती नगरपालिका–८, कल्याणपुरमा शिवचर्चा पूजा भइरहेको क्रममा माइकमा करेन्ट प्रवाह हुँदा एक वृद्धा महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार  दिउँसो करिब ३:३० बजे बागमती नगरपालिका–१०, शंकरपुरकी ६५ वर्षीया मानकी देवी पूजा कार्यक्रममा सहभागी भएकी बेला माइक छोएको क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।

उहाँलाई तत्काल उपचारका लागि नगर अस्पताल बरहथवामा लगिएको भए पनि चिकित्सकले दिउँसो ३:५५ बजे मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट सोल्टी र इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयार गरेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।