सर्लाही, भदौ ५ । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब १० बजे नगरपालिकाचोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २३ वर्षीया छोरी गुरीया कुमारीलाई ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी गुरीयालाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको थियो। तर, अस्पतालका चिकित्सकले बिहान १०:२२ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले ट्याक्टर र चालक गोडैता नगरपालिका–११ बस्ने अजय साह (१७) लाई नियन्त्रणमा लिएको छ। चालकसँग आवश्यक कागजातसमेत नभएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।