सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षकी बालिकालाई सौतेनी आमाले नै हत्या गरेको स्वीकार गरेकी छिन् । आइतबार बिहानदेखि हराइरहेकी खुसी खातुन दिउँसो घर पछाडिकै झाडीमा मृत भेटिएकी थिइन् ।

घटनापछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएकी उनकी सौतेनी आमा मुस्कान खातुनले सौता रुबिना खातुनसँग विवादका कारण बालिकाको हत्या गरेको स्वीकार गरेको एसपी रुपक खड्काले जानकारी दिए । ‘नियन्त्रणमा रहेकी मुस्कानले बालिकाको हत्या गरेको स्वीकार गरिसकेकी छन्,’ उनले कान्तिपुरसँग भने, ‘सौता रुबिनासँग केही समयदेखि बोलचाल बन्द रहेछ ।बालिकाको हत्या गरेर घर पछाडिको झाडीमा फालेको मुस्कानले बयान दिएकी छन् ।’

घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै एसपी खड्काले सोमबार म्याद गराउने तयारी रहेको बताए । बालिका बिहान पौने १० बजेसम्म पूर्व पश्चिम राजमार्ग छेउमै रहेको घर अगाडि खेलिरहेकी थिइन् । त्यहीँबाट अचानक हराएकी थिइन् ।

परिवारजनले खोजी गर्दा नभेटिएपछि इलाका प्रहरी कार्यालय रुपनीमा खबर गरिएको थियो । शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । बालिकाका बुवा वैदेशिक रोजागरीमा छन् ।