बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

बुधबार राति करिब सवा ९ बजेतिर वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति साढे १० बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृतकको शव एलएस न्युरो अस्पतालमा राखिएको छ भने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।