मलंगवा,कात्तिक,१२–नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्।

अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस एरिया कमान्ड’मा कार्यरत भारतीले गत वर्ष सिड्नीको क्रोइडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहसका लागि यो पुरस्कार पाएका हुन्।

सन् २०२५ अक्टोबर ५ तारिखमा भएको उक्त सार्वजनिक गोलीकाण्डमा उनी घटनास्थलमा पुग्ने पहिलो प्रहरी अधिकृतमध्ये एक थिए। आफूमाथि गोली प्रहार भइरहेको अत्यन्तै जोखिमपूर्ण अवस्थामा पनि उनले आफ्ना कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाउनुका साथै घाइते भएका एक सर्वसाधारणको उद्धार गरेका थिए।

पुरस्कार ग्रहण गर्दै भारतीले यो सम्मान आफूले कहिल्यै नचिताएको बताए। सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आएका उनले भने, ‘यस रूपमा सम्मानित हुन पाउनु मेरो लागि गर्वको विषय हो, जुन मैले यो देशमा आउँदा कल्पना पनि गरेको थिइनँ।‘

उनले प्रहरी सेवा कहिल्यै पनि व्यक्तिगत प्रयास मात्र नहुने स्पष्ट पारे। घटनाका बेला साथमा रहेका सहकर्मीहरूको साथ, तालिम र विश्वासकै कारण आफूले त्यो साहस देखाउन सकेको भन्दै उनले यो सम्मान सम्पूर्ण सहकर्मीहरूसँग बाँड्न चाहेको बताए।

‘मलाई स्वागत गर्ने र योगदान गर्ने अवसर दिने देश र समुदायको सेवा गर्न पाउनु मेरो अहोभाग्य हो,’ उनले भने।

एनएसडब्लु प्रहरी कमिस्नर माल लानयोनले पनि भारतीको साहसको उच्च प्रशंसा गरेका छन्। क्रोइडन पार्कको त्यो खतरनाक दिनमा भारतीले आफ्नो ज्यानको पर्वाह नगरी देखाएको साहस असाधारण रहेको उनले बताए।

‘वरिष्ठ कन्स्टेबल भारतीले देखाएको बहादुरी र उनको कार्यले जनताको रक्षा र सेवा गर्ने शपथलाई सार्थक बनाएको छ,’ कमिस्नर लानयोनले भने।