बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८, कटाटोलमा जुवातास खेलिरहेका ८ जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट ७६ हजार ३९० रुपैयाँ नगद बरामद गरेको छ। शुक्रबार राति स्थानीय गोरीमाया तामाङको बाख्राको गोठमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ र कलैया उपमहानगरपालिका–२१ का बासिन्दा रहेका छन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ।