नेपाल रेडक्रस सोसाइटी उपशाखा हरिपुरको सभापतिमा पुनः चन्द्रिका साह निर्वाचित भएका छन् ।

हरिपुर रेडक्रसको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो । मतदानमा ६३३ जना सदस्यमध्ये ५४२ जनाले मतदान गरेका थिए । जसमा चन्द्रिका साहको पूरै प्यानल बिजयी भएको हो ।

साह २८२ मत प्राप्त गरी चौंथो पटक हरिपुर रेडक्रसको सभापतिमा बिजयी भएका छन् । साहका प्रतिस्पर्धी चूडामणि धामीले १९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

महिला उपसभापतिमा देवकुमारी थापा २७६ मत ल्याएर बिजयी हुँदा उनकी प्रतिस्पर्धी सावित्रीकुमारी कार्कीले २१४ मत मात्रै प्राप्त गरेकी छन् । मतदानमा सबैभन्दा धेरै ३११ मत प्राप्त गरी एकेन्द्रकुमार बस्नेत सचिवमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी मोहम्मद असफाकले १७७ मत प्राप्त गरेका छन् ।

उपसचिवमा सहदेव दास बनियाले २९२ मत प्राप्त गरी बिजयी हाँसिल गरेका छन् । बनियाँका प्रतिस्पर्धी ओमप्रकाश साह रौनियारको पक्षमा २०१ मत खसेको छ ।

कोषाध्यक्षमा २८६ मत ल्याएर बासुदेव साह र सह–कोषाध्यक्षमा २८८ मत ल्याई रमेश कुमार साह रौनियार निर्वाचित भएका छन् । कोषाध्यक्षमा अर्का उम्मेदवार रवीन्द्र राय यादवले २०९ र सह–कोषाध्यक्ष शुुभकरण चौधरीले २०० मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा २६३ मत प्राप्त गर्दै शोभाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । यस्तैगरी खुल्ला सदस्यमा २९४ मतसहित रमा चालिसे, २६८ मतसहित महाविर दास कथबनिया, २९८ मतसहित राजनप्रसाद पोखरेल र ३१४ मतसहित धर्मबिक्रम कार्की विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वका लागि सर्वसम्मत हुुन नसकेपछि रेडक्रस हरिपुरको नयाँ नेतृत्वका लागि विभिन्न राजनीतिक दलका नेताले एउटै पार्टीमा भएपनि अलग–अलग प्यानलमा बसेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

हिजो दिनभर भएको मतदानको अन्तिम मतपरिणामको घोषणा गएराति मध्यरातमा गरिएको थियो ।