झुटो वन मुद्धा विरुद्ध नेकपा माओवादी केन्द्र सर्लाहीले मोटरसाइकल र्याली सहित डिभिजन वन कार्यलयको गेटमा प्रदर्शन गरेको छ ।
आइतबार जिल्लाका विभिन्न स्थानबाट डिभिजन वन कार्यलय पुगेका सुकुम्वासी, स्थानीय तथा माओवादी केन्द्रका नेता कार्यकर्ताले नारावाजी सहित प्रदर्शन गरेका हुन् । बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तान सहित केही कर्मचारी बिरुद्ध डिभिजन वन कार्यलय मुद्धा दर्ता गर्ने तयारी गरेको बिरुद्ध आन्दोलन गरेको माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्युतम काफ्लेले बताए ।
राजनीतिक प्रतिशोध साधेर सरकारले जनप्रिय मेयर उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको पार्टीको आरोप छ । पूर्व निर्धारित विरोध कार्यक्रम अन्तरगत सर्लाहीले पुर्व पश्चिम राजमार्ग स्थित पश्चिममा बागमती पुतलीचोक देखी पूर्वमा फुलजोर खोला पुल सम्म सयैँको संख्यामा मोटरसाइकल ¥याली सहित प्रदर्शन गरेको माओवादी केन्द्रले जनाएको हो ।
मोटरसाइकल ¥याली पछि केही बेर लालबन्दीमा रहेको डिभिजन वन कार्यालय घेराउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन् । नगर स्थानीय सरकार संचालन ऐनले गरेको व्यवस्था अनुसार बागमती नदीले छाडेको नदि उकास जमिनलाई तालमा रुपान्तरण गरेर नगरको आयआर्जन पर्यटकीय र वातावरणीय हिसावले प्रयोग गरेको उल्लेख गर्दै आएको छ ।
जनप्रतिनिधि निर्वाचित हुनु पूर्व नै सागरनाथ वन परियोजना र डिभिजन वन कार्यलयले राखेका सुकुम्वासीलाई स्थानीय सरकारले व्यवस्थापन गरेको विषयलाई अतिरंजित तुल्याएर अतिक्रमको झुटो मुद्धा लगाउने काम तत्काल बन्द गर्न समेत पार्टीले जोडदार माग गरेको हो । यसै विषयमा माओवादी केन्द्रले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । उसले सरकारी षड्यन्त्रविरुद्ध मोटरसाइकल ¥याली, वन कार्यालयमा विरोध प्रदर्शन, धर्ना, मशाल जुलुस, जनसभा, बन्द र आम हड्तालसम्मका कार्यक्रम यस अघिनै घोषणा गरेको छ ।