सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा निर्माण व्यवसायीको लापरवाहीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ ।

निर्माणाधीन अवस्थामै रहेको हुलाकी सडकमा लामो समयदेखि दुर्घटना निम्तने गरी गिट्टीका टुक्रा छाडिँदा जोखिम बढेको हो । साइकल, मोटरसाइक, टेम्पु, कार जस्ता साना सवारी बारम्बार गिट्टीका टुक्रामा चिप्लने गरेका छन् ।

हुलाकी सडकको अधिकांश स्थानमा दायाँबायाँ दुवै भागमा अत्यधिक मात्रामा गिट्टीका टुक्रा छरिएका छन् । पर्सा गाउँपालिका–५, पर्सा टोलका फकुरुद्धिन अन्सारीले घर अगाडिको सडकमा यत्रतत्र रहेका गिट्टीका टुक्रामा बारम्बार मोटरसाइकल चिप्लिएर लड्ने गरेको जानकारी दिए ।

उनले सडकमा रहेका गिट्टीको टुक्रा उच्छिट्टिएर बारम्बार पैदलयात्री र छेउछाउ घर भएका स्थानीयलाई समते लाग्ने गरेको बताए । हुलाकी सडकमा पहिलो चरणको कालोपत्रे भएपछि धुलोबाट मुक्ति पाएपनि निर्माण व्यवसायीले सडक नै अस्तव्यस्त बनाउने गरी रहेका गिट्टीका टुक्रा नहटाइदिँदा दिनहुँ दुर्घटना बढेको अन्सारीले सुनाए ।

सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडकमा एक चरणको कालोपत्रे पूरा भएपनि अन्तिम चरणको कालोपत्रे बाँकी नै रहेको छ । केही स्थानमा सडकको ‘साइड क्लियर’ नहुँदा बेस बिछ्याउनेबाहेक अन्य काम हुन सकेको छैन् ।

हुलाकी सडक आयोजना जनकपुरका इन्जिनियर रन्जित रायले निर्माणकैक्रममा रहेकाले अर्को चरणको काम हुँदा गिट्टीका टुक्रा हट्ने बताए ।