सर्लाहीमा सरस्वती पूजाको मुर्ति विर्सजनलाई लक्षित गरी प्रहरीले सुरक्षा सर्तकता अपनाएको छ ।

विवाद हुन सक्ने ठाउँमा मुर्ति विर्सजनका क्रममा प्रहरीले सुरक्षा पहरा दिने भएको हो । हिजो गरिएको सरस्वती पूजाको मूर्ति आज नजिकैको खोला, पोखरी, नहरलगायतका जलासयमा लगेर सेलाउने अर्थात् विर्सजन गर्ने काम गरिँदै छ । जिल्लाको उत्तरी भेगमा सामान्य हिसाबले मूर्ति विर्सजनको काम हुने भएपनि सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा भने विगतका वर्षहरुमा विवाद उत्पन्न हुने गरेको थियो ।

सोही कुरालाई मध्यनजर गरी मुर्ति विर्सजन गर्न लैजाँदा प्रहरीले सुरक्षा पहरा दिने सर्लाही प्रहरीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले बताए । सर्लाहीमा हिजो सरस्वती पूजा शान्तपूर्वक रुपमै सम्पन्न भएको थियो । कतिपय विद्यालयमा गएसाँझ अबेरसम्म नै साँस्कृतिक कार्यक्रम भएका छन् ।

मलंगवाको कृष्णामति मावि र बबरगन्जको दुुर्गा खोभारी माविमा सामान्य विवाद सिर्जना भएपनि तत्कालै प्रहरी पुुगेर स्थिति साम्य पारेको एसपी सिंहले सुनाए । विद्यालयको अलवा कतिपय ठाउँमा बालबालिका तथा गाउँले मिलेर चोक, चौरमा समेत सरस्वतीको प्रतिमा राखेर पनि पूजा गरिएका छन् । ती सबै मुर्ति आज नै विर्सजनको तयारी रहेको स्थानीयले बताएका छन् ।