सर्लाहीको हरिपुर नगरपालिका-२, सानो जगतपुर स्थित खानेपानी आयाेजना उद्घाटन तथा हस्तान्तरण गरिएकाे छ ।

बुधबार आयाेजित एक समाराेहबीच आयाेजना उद्घाटन एवं हस्तान्तरण गरिएकाे हाे । ३५ घनमिटर क्षमताको ओभरहेड ट्याङकी निर्माण गरी खानेपानी वितरण गरिएको खानेपानी आयोजनाका अध्यक्ष अर्जुनबहादुर पौडेलले जानकारी दिए । स्थानीय वासिन्दा समेत रहेका पौडेलले घरघरमा खानेपानी सुविधा पुगेपछि गाउँले खुसी भएकाे बताएका छन् ।

खानेपानी आयोजनाको काम सम्पन्न गर्न अक्सफाम नेपाल र वागमती सेवा समाज नेपालले ८८ लाख सात हजार १८३ रुपैया, हरिपुर नगरपालिकाले छ लाख, प्रदेश सांसद बेची लुंगेलीकाे संसदीय विकास कोषबाट पाँच लाख र पाँच लाख १८ हजार ७०० रुपैयाँ बराबरको जनश्रमदान गरि कूल एक करोड चार लाख २५ हजार ८८३ रुपैया लागतमा आयाेजना पुनर्निमाण सम्पन्न गरिएकाे कार्यक्रम संचालक एवं वागमती सेवा समाजका किशाेर उपाध्यायले जानकारी दिए । २५० घरधुरीमा खानेपानी सुविधा पुर्याउने गरि सन् २०२२ देखि निर्माण भएकाे आयाेजनाबाट विद्युत् तथा सौर्य उर्जामार्फत चौबिसै घण्टा खानेपानी वितरणको व्यवस्था मिलाइएकाे छ ।

अर्जुन बहादुर पाैडेलकाे अध्यक्षता तथा हरिपुर नगरपालिका-२ का वडाध्यक्ष निलबिक्रम थापाकाे प्रमुख आतिथ्यता रहेकाे उद्घाटन समाराेहमा हरिपुर नगरपालिका खानेपानी तथा सरसफाई बाेर्डका अध्यक्ष एवं हरिपुर-८ का वडाध्यक्ष हरिबहादुर थापा, वागमती सेवा समाज नेपालका पूर्व अध्यक्ष भरतकुमार कार्की, यादव सरकार लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा खानेपानी आयाेजना पुनर्निमाणका लागि याेगदान पुर्याउने प्रदेश सांसद बेची लुंगेली, हरिपुर नगरपालिकाका मेयर गाेपाल पंजियार, हरिपुर नगरपालिका खानेपानी तथा सरसफाई बाेर्डका अध्यक्ष एवं हरिपुर-८ का वडाध्यक्ष हरिबहादुर थापा, अक्स्फाम नेपाल, वागमती सेवा समाज नेपालका पूर्व अध्यक्ष भरत कुमार कार्की, ग्रामिण सामुदायिक विकास केन्द्र हरिपुरका यादव सरकार, पूर्व वडाध्यक्ष रितेश्वर कडरिया, सानाे जगतपुर खानेपानी आयाेजना, स्थानीय जनता आधारभूत विद्यालय, हरिपुर २ नम्बर वडा कार्यालय, इन्जिनियर अनमाेल कुशवाहा, स्थानीय अमृत घिसिङ लगायतलाई वागमती सेवा समाज नेपालकी अध्यक्ष लगायतद्वारा सम्मानपत्र प्रदान गरिएकाे छ ।