सर्लाहीमा प्याज खेती गरेका किसानलाई लागत उठाउन समेत मुस्किल परेको छ । १२० रुपियाँ प्रतिकेजी प्याजको बीउ किनेर रोपेका किसान अहिले आफूले उत्पादन गरेको हरियो प्याज प्रतिकेजी १० देखि १२ रुपियाँमा बिक्री गर्नुपर्दा मारमा परेका छन् । चन्द्रनगर गाउँपालिका–७, खड्का टोलका किसान योगनारायण चौधरीले १२ हजार रुपियाँ क्विन्टलले प्याजको बीउ किनेर अहिले १२०० रुपियाँ क्विन्टलमा बिक्री गर्नुपरेको गुनासो गरेका छन् ।

अहिलेको मुल्यमा प्याज बिक्री गर्दा प्याज ओखेल्न ज्याला दिएर खटाइने मानिस (जन) लाई दिने पैसाधरी नउठ्ने चौधरीको गुनासो छ । “चार कठ्ठामा प्याज लगाउँदा ४० हजार रुपियाँ बढी त बीउ किन्न मात्रै खर्चभयो” चौधरीले भने, “बीउको लागत त जसोतसो उठ्न लाग्यो तर आफ्नो हैरानी, मल, मजदुरको खर्च उठ्ने अवस्था छैन् ।”

चौधरीका अनुसार किसानले गत वर्ष प्याजको बीउ प्रतिक्विन्टल छ हजार रुपियाँमा खरिद गरेर आफूले पनि सोही मुल्यमा बिक्री गरेका थिए । तरकारी उब्जाएर बिक्री गर्ने किसानले यो वर्ष काउली र बन्दा जस्तै हरियो प्याजको पनि मुल्य नै पाउन सकेका छैनन् ।

मोटरसाइकलमा लालबन्दी बजारसम्म पुर्याएर प्याज बिक्री गर्न लानुपर्ने र तर कौडीको भाऊमा बिक्री गर्नुपर्ने भएपछि आफूले प्याज बिक्री गर्नै छाडिदिएको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान हरिप्रसाद महतोले बताए । मुल्य नपाएपछि आफूले दुुई कठ्ठामा लगाएको प्याज ट्याक्टर लगाएर जोत्ने सोँच बनाएको उनले सुनाए ।

“प्याज तयार भएपछि एक्कासी भाऊ घट्यो, काठमाडौँबाट माग नै नआएको भन्दै व्यापारीले किन्न मानिरहेका छैनन्,” महतोले भने,“बाध्य भएर ट्याक्टर लगाएर जोत्नुुपर्ने स्थिति आएको छ ।” यो वर्ष हरियो प्याजको मुल्य नपाएका किसानले आगामी वर्षदेखि खेती घटाउने तयारी गरेका छन् ।