सर्लाही सदरमुकाम मलङ्गवामा रमजान पर्वमा रोजा अर्थात् व्रत बसेका २८० जनालाई खाद्यान्न सहयोग गरिएको छ ।

दिनभर रोजा बसेर बेलुका घरमा खाने अन्नको अभाव हुने व्यक्तिलाई हेल्पिङ्ग ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युु.एस.ए. नेपालको सिजनल सपोर्ट प्रोग्राम अन्तर्गत स्थानीय समाज विकास केन्द्रले रोजा बसेकालाई सहयोग प्रदान गरेको हो । रमजान पर्वमा व्रत बसेका मुुस्लिम समुदायका अतिविपन्न, एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, टुहुरालाई खाद्यान्न सहयोग गरिएको स्थानीय समाज विकास केन्द्र हजारबिघाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।

मलङ्गवा नगरपालिका–३, मा २०० परिवार र मलङ्गवा नगरपालिका–६, मा ८० परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । प्रत्येक परिवारलाई २५ केजी चामल, ५ किलो पिठो, २ किलो दाल, २ किलो चिनी, २ लिटर तेल, २ किलो चिउरा, एक किलो नुन र १ किलो चना प्रदान गरिएको छ ।

पूर्व गृहराज्य मन्त्री रिजवान अन्सारीको प्रमुख आतिथ्यतामा आयोजित खाद्यान्न वितरण कार्यक्रममा प्रदेशसभा सदस्य विमला अन्सारी, मलङ्गवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, मलङ्गवा नगरपालिका–६, का वडाध्यक्ष रामकैलाश यादव, स्थानीय समाज विकास केन्द्रकी कोषाध्यक्ष रेवतीकुमारी न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।