नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ बस्ने ३२ वर्षीया लक्ष्मी कुमारी महतो रहेकी छिन्।

पीडित सर्लाही हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवले महतोले पटक–पटक गरी दुई लाख पचहत्तर हजार रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए। यादवका दाइ सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै २०८१ साल चैत्र ३ गते लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो। सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।