प्रहरीले सर्लाहीको बागमतीबाट लागुऔषध गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागमती नगरपालिका–१२, बथाने टोल बस्ने ७६ वर्षीय मानबहादुर बल रहेका छन् । उनलाई घरमा लागुऔषध गाँजा लुकाइछिपाइ राखेर बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक (सइ) सुभाष यादव र इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्राप्त सूचनाका आधारमा बलको घर खानतलासी गर्दा लुकाएर राखिएको १६ किलो ५०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गाँजा र पक्राउ परेका बललाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।