इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डिएसपी फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले १२१ जना डिएसपीको सरुवा निकाल्दा बरहथवाका डिएसपी परिवर्तन भएका हुन् । हाल कार्यरत डिएसपी गौतम थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल, काठमाडौंमा सरुवा भएको छ ।

उनी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा दरबन्दी रहेर बरहथवामा कार्यरत थिए । बरहथवामा केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंमा कार्यरत डिएसपी निरन्जन भट्टराईलाई पठाइएको छ ।

भट्टराईको दरबन्दी पनि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमै तोकिएको छ । दरबन्दी नरहेकाले इलाका प्रहरी कार्यालय बरहथवामा काजमा डिएसपी खटाउने गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालयले ३७२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा निकाल्दा सर्लाहीका तीन जना इन्स्पेक्टर फेरिएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा सरुवा हुँदा लालबन्दीमा प्रहरी वृत्त जनसेवा काठमाडौंबाट इन्स्पेकटर वीरेन्द्रसिंह जोहारीलाई पठाइएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट प्रहरी वृत्त गौशाला काठमाडौं सरुवा भएका इन्स्पेक्टर उद्धव पोखरेलको स्थानमा प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टर पवनजंग कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा कार्यरत एक मात्रै महिला इन्स्पेक्टर सरिता मचामसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरी उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय लागुुऔषध नियन्त्रण इकाइ वीरगन्जबाट इन्स्पेक्टर विशालबहादुर बुुढाथोकीलाई खटाइएको छ ।

इन्स्पेक्टर र डिएसपीपछि अब एसपीको सरुवा निकाल्ने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहको कार्यकाल एक वर्ष पूरा भइसकेकाले उनको पनि सरुवाको तयारी छ ।