नेकपा एमाले ईश्वरपुर नगर कमिटीको अध्यक्षमा ध्वजमान मोक्तान विजयी भएका छन् ।

प्रतिस्पर्धी मेनकुमार गौतमलाई १४ मतले पराजित गर्दै मोक्तान ३ वर्षे कार्यकालका लागि एमाले ईश्वरपुर नगर कमिटीको अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा विजयी मोक्तानले १६० मत प्राप्त गर्दा गौतमको पक्षमा १४६ मत खस्यो ।

ईश्वरपुर ४ सागरनाथ निवासी मोक्तानले ईश्वरपुर ५ फूलजोर निवासी निवर्तमान नगर कमिटीका अध्यक्ष गौतमलाई पराजित गरेका हुन् । एमाले ईश्वरपुरको ५ जना पदाधिकारी चयन गर्न हिजो भएको मतदानमा पाँचै जना मोक्तानकै प्यानलका उम्मेदवार विजयी भएको छ ।

उपाध्यक्षमा गणेश कार्की १५६ मत ल्याई बिजयी हुँदा उनका प्रतिस्पर्धी सविता चौधरीले १४२ मत प्राप्त गरेकी छन् । यसैगरी सचिवमा श्याम महतो १६३ मत प्राप्त गरी निर्वाचित हुँदा महतोका प्रतिस्पर्धी बालकृष्ण दर्लामीले १३४ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनायो ।

यसैगरी उपसचिव महिलामा रासवती देवी १६१ र उपसचिव खुल्लामा खेमबहादुर बुढाथोकी १५९ मत प्राप्त गरी बिजयी भएका छन् । रासवतीकी प्रतिस्पर्धी सुशीला पाण्डेले १४० र खेमबहादुरका प्रतिस्पर्धी विजय महतोले १३६ मत प्राप्त गरेका छन् ।

एमाले ईश्वरपुरको शनिबार उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा सहमती हुन नसकेपछि हिजो मतदान गरिएको थियो । मतदानमा ३२१ जना प्रतिनिधिमध्ये ११५ जनाले मत खसालेका अध्यक्ष मण्डलका अध्यक्ष मनोजकुमार देवकोटाले जानकारी दिए ।

हिजो दिउँसो साँढे १ बजेदेखि साँझ ५ बजेसम्म उद्योग वाणिज्य संघ बयलवासको सभा हलमा मतदान भएको थियो । राति १० बजे मतगणना सकेर नतिजा घोषणा गरिएको निर्वाचन समितिका संयोजक कपिलमुनि पोखरेलले बताए ।

६५ सदस्यीय नगर कमिटीमा ५ जना पदाधिकारी मतदानबाट चयन गरिए पनि अन्य सदस्य अब १५ वटै वडाबाट सहमतीको आधारमा चयन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।